भारतीय अवरोध : नदीमा बनाउनुपर्ने तटबन्ध खेतको आलीमा

0
87

पश्चिम नवलपरासीको सुस्तामा तटबन्ध निर्माणमा भारतले अवरोध गरेको छ। भारतीय पक्षको अवरोधपछि नदी किनारमा बनाउनुपर्ने तटबन्ध बाटो र खेत नजिक निर्माण गरिएको छ। अवरोधकै कारण केही क्षेत्रमा अझ पनि तटबन्ध निर्माण हुन सकेको छैन।

भारतीय एसएसबीले अवरोध गरेपछि सुस्ताको दक्षिणतर्फको सीमा क्षेत्र नजिकको नेपाली भूभागमा निर्माण गर्नुपर्ने तटबन्ध पनि नबनेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए। तटबन्ध बनाउन जाँदा भारतीय एसएसबीले अवरोध गर्ने गरेको उनको भनाइ छ।

नारायणी नदी किनार हुँदै ५ वर्षअघिबाट सुस्तामा तटबन्ध निर्माण कार्य सुरु भएको हो। नदीबाट हुने क्षतिलाई कम गर्न तटबन्ध सुरु गरिएको हो।‘तटबन्ध कार्य नेपालीले भोगचलन गर्दै आएको नदी छेउको ‘धनैया रेता’ भन्ने स्थानबाट गर्नुपर्ने थियो। तर भारतीय एसएसबीले आफ्नो भन्दै बनाउन दिएनन्। त्यसपछि हामीले त्यो स्थानलाई छाडेर बाटो र खेत नजिकैबाट तटबन्ध निर्माण गरेका छौं’, जयसवालले भने। धनैया रेतालाई छाडेर नजिकैबाट तटबन्ध गरेका कारण सोही बहानामा उक्त जग्गा भारतीयले आफ्नो भन्दै दाबी गर्न सक्ने संभावना उत्तिकै बढेको छ।

तटबन्ध नगरे नदीले खेती योग्य जमिन कटान गर्ने भएकाले तत्काललाई विवाद नगरी खेती जोगाउन धनैयाको जमिन छाडेर तटबन्ध गरिएको सुस्ता बचाउँ अभियानका उपाध्यक्ष आदम खाँले बताए। भारतीय सीमा नजिक रहेको नदी छेउको दक्षिण÷पूर्वमा पनि भारतीयले तटबन्ध गर्न नदिएको खाँले बताए। ‘सीमाभन्दा ६५ मिटर अगाडिको नेपाली भूभागमा समेत तटबन्ध निर्माण गर्नबाट भारतीय एसएसबीले रोके। हाम्रै भूभागमा काम गर्न रोके पनि सरकारी निकायबाट बोली दिने कोही भएनन्’, खाँले गुनासो गरे। तटबन्धका लागि त्यो क्षेत्रबाट संविधानसभामा निर्वाचित भएका देवकरण जयसवालको पहलमा पहिलो पटक ७० लाख बजेटबाट ‘जनताको तटबन्धन कार्यक्रम’ अन्तर्गत ०७० माघ महिनादेखि तटबन्धको काम सुरु भएको हो। त्यसपछि हरेक वर्ष रकम छुट्टाउँदै आइएको छ।

अहिलेसम्म करिब १० करोडलागतमा साढे २ किमि तटबन्ध निर्माण कार्य सकिएको छ। १० महिनाअघिसम्म तटबन्ध भएको क्षेत्र सुस्ताको पश्चिम÷पूर्व कुनाबाट उत्तर÷दक्षिणसम्म छ। रकम अभावले अझ डेढ किमि तटबन्ध बाँकी रहेको खाँले बताए। तीनतर्फबाट भारतको बिहारले घेरेको सुस्ता गाउँ नारायणी नदी पारीको पूर्वमा छ। धनैयाको माथिल्लो भागदेखि उत्तरतर्फको सिमलको रुख (विवादपछि सहमतिमा अस्थायी पिलरको रूपमा स्थापना गरेको स्थान) सम्म तटबन्ध गर्न बाँकी छ। यसका लागि ७ देखि ८ करोड बजेट आवश्यक पर्ने बताइएको छ।

तटबन्ध नहुँदा नदीले कटान गरेको भूभाग भारतीयले आफ्नो भन्दै आउने गरेकाले समस्या भएको सुस्ता बचाउ अभियानकी नेतृ लैला बेगमले बताइन्। सुस्ता गाउँपालिका-५ को सुस्ता गाउँको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर हो। त्योमध्ये अहिलेसम्म १४ हजार हेक्टर भारतले अतिक्रमण गरिसकेको छ। १९ हजार ४ सय ८० हेक्टर प्रतिजग्गासहितको जंगल, प्रति र चरन क्षेत्र कसैले पनि जोतभोग नगर्ने भन्दै २०६४ सालदेखि खाली छाडिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here