सार्वजनिक यातयातमा यस्ताे गरे पाँच हजार तिर्नुपर्ने कानून

हामीले सार्वजनिक यातायातको प्रयोग गर्दा दैनिक जसो चालक, सहचालक र यात्रुले समेत सुन्नै नसक्ने अपशब्द प्रयोग गरेको सुन्छौँ। परिवारका सदस्य र साथीसँगै हुँदा सुन्न नसकिने शब्द सार्वजनिक यातायातमा प्रयोग भए पनि कसैलाई कारबाही भएको पाइदैन। बरु उल्टै त्यस्ता शब्दहरु बोल्ने भन्दा सुन्नेहरु नै तर्केर सुनेको नसुने झैँ गरी हिँड्ने गरेका छन्। तर अब सार्वजनिक यातायातमा अप शब्द प्रयोग गर्ने लाई प्रहरीले एक हजारदेखि पाँच हजार रुपैयाँ सम्म जरिवाना गर्ने प्रस्ताव सरकारले गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रियसभामा दर्ता गरेको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राणिकरण गठन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ मा सार्वजनिक यातायातमा अपशब्द प्रयोग गर्नेलाई पाँच हजार सम्म जरिवाना गर्ने प्रस्ताव गरिएको हो। काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई मात्र प्राधिकरणमार्फत व्यवस्थित बनाउन सरकारले नयाँ कानून बनाउन लागेको हो।विधेयकमा सार्वजनिक यातायातमा भाडा नतिर्ने यात्रु, कम भाडा उडाउने अना आवश्यक सहुलियत दिने, जेष्ठ नागरिक, आपांगता भएका व्यक्ति बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गर्नेलाई पनि एक हजारदेखि पाँच हजार रुपैयाँसँम जरिवाना हुने प्रस्ताव गरिएको छ। त्यस्तै सार्वजनिक यातायातमा क्षति पुर्‍याउने फोहर गर्ने वा सवारी साधानबाट सडक फोहोर फाल्नेलाई पनि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान विधेयकमा राखिएको छ। विधेयकमा कम भाडा तिर्नेलाई जरिवाना गर्ने प्रस्ताव गरिए पनि बढी भाडा असुल्नेलाई कारबाहीको दायारमा ल्याइएको छैन। जरिवाना कम्तिमा सहायक निरिक्षक तहको ट्राफिकले गर्ने र उसले गरेको निर्णय उपर सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ।

अन्त्येष्टिमा लगिएको शिशु जीवितै, परिवारका तीन जनालाई नियन्त्रणमा:देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो । मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शंकास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको उनले जानकारी दिए । अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शंकास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन् । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको मल्लले बताउनुभयो । घटना शुक्रबार भएको हो । बिहीबार ती बच्चा जन्मिएका थिए । गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।

रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि प्रस्ताव अघि सारेको छ । सो अनौठो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भएर यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए । गाउँपालिका भएर बग्ने लुंगी नदीमा विगतदेखि सुन खोज्ने परम्परा रहँदै आएको थियो । सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुंगी नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए । बालुवामा सुनका कणहरुसमेत भेटिने गरे काले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ । सो नदीआसपासको क्षेत्र मगर बाहुल्य क्षेत्र भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको बताइन्छ । मगर भाषामा लुङ भनेको ढुङ्गा र री भनेको पानी अर्थात् ढुंगबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन् । नेपाल सरकारको अनुमति लिएर चीनको एक कम्पनीले गरेको अनुसन्धानका क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीले जानकारी दिए । सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका भएर उक्त नदी बग्ने गर्दछ । ती दुई गाउँपालिकाको हार्जङ, स्युरी, जैमाकसला, फगाम र मिझिङका स्थानीयवासीले लामो समयदेखि सुन चाल्दै आएका छन् । त्यसरी सुन चाल्ने पेशा अँगाल्दै आएकाहरुलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष सुन चालेर स्वरोजगार बन्ने योजना अघि सारेको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गङ्ज क्षेत्रीले जानकारी दिए ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।