तीन लोग्ने र एउटी श्रीमती बिहे दर्ता गर्न आए के गर्ने ?

मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ । तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’ समितिमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको व्यवस्था गर्न बनेको विधेयकको व्यक्तिगत घटनाबारे छलफल भइरहेको थियो । छलफलका क्रममा बहुपति प्रथाले प्रवेश पाएको हो । मुस्ताङ लगायतका क्षेत्रमा बहुपति प्रथा छ । सांसद सुब्बासँगै छक्कबहादुर लामाले विभिन्न जाति र क्षेत्रमा बहुपति प्रथा रहेको भन्दै कानून निर्माण गर्दा जातीय परम्परालाई ध्यान दिनुपर्ने बताए । व्यक्तिगत घटना दर्ताबारे भएको छलफलमा नेकपा सांसद सुब्बाले हिन्दु विधिशास्त्रअनुसार संविधान बनेकाले अन्य जातिका परम्परालाई नजर अन्दाज गरिएको टिप्पणी गरे । उनले भने, ‘तीन जना लोग्ने र एक जना श्रीमती विवाह दर्ता गर्न आए के गर्नुहुन्छ ? समाजमा भएका कुराहरुलाई ऐन कानुनले कमाण्ड गर्नुपर्छ कि पर्दैन ?’सांसद छक्कबहादुर लामाले यो नेपाली समाजको समस्या भएकाले छलफल गर्नुपर्ने बताए । तर समितिमा रहेका महिला सांसदहरुले प्रतिवाद गरे । सांसद यशोदा गुरुङ सुवेदीले फौजदारी संहिताले बहुविवाहलाई अपराध मानिसकेको अवस्थामा बहु विवाह लाई के गर्ने भनेर छलफल गर्नुको औचित्य नहुने बताइन् । उनले भनिन्, ‘हाम्रो सामाजिक परम्परामा बोक्सी प्रथा छ । के अब त्यसलाई पनि मान्यता दिने ?’ सांसद सुब्बाले भने संविधानले आफ्नो प्रथा परम्पराअनुसार गर भनेको स्मरण गराए । गाई मारेको आरोपमा अहिले थुप्रै मानिसमा जेलमा रहेको भन्दै उनले भने, ‘अहिले त मार्न छाडिसक्यो तर गाई वा गोरुको टाउको राखेर म अहिले पनि पूजा गर्छु । यसलाई नजरअन्दाज गरेर त्यत्तिकै जान त मिल्छ ।’ सांसद रेखा शर्माले कानुन र संविधानले गरेको व्यवस्थालाई व्यवहार र संस्कृतिले काट्न नमिल्ने तर्क गर्दै अभ्यास छ भन्ने नाममा कानुनलाई विस्थापित गर्न नहुने तर्क गरिन् । उनले संघीय कानुनबारे छलफल गरिरहँदा क्षेत्रगत परम्परा र संस्कृतिको सम्बोधन गर्नुपर्छ भन्नुको औचित्य नरहेको बताइन् ।

स्वरोजगारका लागि ‘लुंगी नदीमा सुन चाल्न’ बजेट:रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि प्रस्ताव अघि सारेको छ । सो अनौठो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भएर यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए । गाउँपालिका भएर बग्ने लुंगी नदीमा विगतदेखि सुन खोज्ने परम्परा रहँदै आएको थियो । सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुंगी नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए । बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ ।सो नदीआसपासको क्षेत्र मगर बाहुल्य क्षेत्र भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको बताइन्छ । मगर भाषामा लुङ भनेको ढुङ्गा र री भनेको पानी अर्थात् ढुंगबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन् । नेपाल सरकारको अनुमति लिएर चीनको एक कम्पनीले गरेको अनुसन्धानका क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीले जानकारी दिए । सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका भएर उक्त नदी बग्ने गर्दछ । ती दुई गाउँपालिकाको हार्जङ, स्युरी, जैमाकसला, फगाम र मिझिङका स्थानीयवासीले लामो समयदेखि सुन चाल्दै आएका छन् । त्यसरी सुन चाल्ने पेशा अँगाल्दै आएकाहरुलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष सुन चालेर स्वरोजगार बन्ने योजना अघि सारेको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गङ्ज क्षेत्रीले जानकारी दिए ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।