अन्त्येष्टिमा लगिएको शिशु जीवितै, परिवारका तीन जनालाई नियन्त्रणमा

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो । मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शंकास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको उनले जानकारी दिए । अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शंकास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन् । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको मल्लले बताउनुभयो । घटना शुक्रबार भएको हो । बिहीबार ती बच्चा जन्मिएका थिए । गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।

रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि प्रस्ताव अघि सारेको छ । सो अनौठो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भएर यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए । गाउँपालिका भएर बग्ने लुंगी नदीमा विगतदेखि सुन खोज्ने परम्परा रहँदै आएको थियो । सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुंगी नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए । बालुवामा सुनका कणहरुसमेत भेटिने गरे काले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ । सो नदीआसपासको क्षेत्र मगर बाहुल्य क्षेत्र भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको बताइन्छ । मगर भाषामा लुङ भनेको ढुङ्गा र री भनेको पानी अर्थात् ढुंगबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन् । नेपाल सरकारको अनुमति लिएर चीनको एक कम्पनीले गरेको अनुसन्धानका क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीले जानकारी दिए । सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका भएर उक्त नदी बग्ने गर्दछ । ती दुई गाउँपालिकाको हार्जङ, स्युरी, जैमाकसला, फगाम र मिझिङका स्थानीयवासीले लामो समयदेखि सुन चाल्दै आएका छन् । त्यसरी सुन चाल्ने पेशा अँगाल्दै आएकाहरुलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष सुन चालेर स्वरोजगार बन्ने योजना अघि सारेको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गङ्ज क्षेत्रीले जानकारी दिए ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।