एम्बुलेन्स दुर्घटनामा गर्भवतीसहित ११ घाइते

उदयपुर : उदयपुरका बिरामी बोकेका दुई एम्बुलेन्स मंगलबार फरक-फरक ठाउँमा दुर्घटना हुँदा गर्भवतीसहित ११ जना घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका- १ बाट गर्भवती लिएर बिराटनगरतर्फ जाँदै गरेको स.१.झ.५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा बिहान ३:१० बजे ठोक्‍किएर दुर्घटना हुँदा ३२ वर्षीया सबिना बास्तोला (सुत्केरी व्याथा लागेकी बिरामी) सहित चारजना घाइते भएका हुन्। दुर्घटनामा सबिना बास्तोला, उनका श्रीमान् ३६ वर्षीय खेमबहादुर बास्तोला, ३६ वर्षीय सिताराम बास्तोला र २८ वर्षीय नीरबहादुर पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिए। घाइते बास्तोला परिवारको बिराटनगरस्थित बिराट टिचिङ अस्पताल र चालक उदयपुरगढीका २८ वर्षीय नीरबहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी झापाबाट उदयपुरतर्फ आउँदै गरेको मे.१.च.६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका -६ चुरेमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। झापामा उपचार गरी घर फर्कने क्रममा चुरेमा अनियन्त्रित हुँदा दुर्घटना भएको एसपी मगरले बताए। दुर्घटनामा एम्बुलेन्समा सवारत त्रियुगा नगरपालिका ६ का सदरुल मिँया, छोरी २८ वर्षीया सहिजा मिँया, ३५ वर्षीय मोहमद हमिद, ४० वर्षीय सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ वर्षीया अम्बिका बिक र उनका छोरा ११ वर्षीय अशोक बिक घाइते भएको एसपी मगरले बताए। घाइते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने चालक र एम्बुलेन्स इलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

२० वर्षपछि सोमबार नागपञ्‍चमी : के के हुन्छ लाभ? काठमाडौं : चट्याङ, अग्नि र सर्पको भयबाट मुक्ति दिलाउने पर्व नागपञ्चमी यसपटक २० वर्षपछि सोमबार परेको छ। संस्कृतिविद् श्रीकृष्ण अधिकारीले दुई दसकपछिको सोमबारका दिन नागपञ्चमी परेको जानकारी दिए। संस्कृतिविद् अधिकारीले भने, ‘प्रत्येक १९/१९ वर्षको चक्र हुन्छ। मध्यमान अनुसार यस वर्ष २० वर्षमा सोमबार नागपञ्चमी परेको हो।’ नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले सोमबार नागपञ्चमी पर्नुको महत्व विशेष हुने बताए। उनले भने, ‘सोमबार नागपञ्चमी पर्नु संयोगमात्र होइन, अत्यन्तै राम्रो कुरो हो। नागको पूजा गरी नागको चित्र वा फोटो घरमा टाँसे चट्याङ, अग्नि, बिजुली, बिच्छी, खजुरा र सर्प आदिको भय हुँदैन।’ जसले नागपञ्चमीमा नागको तस्बिर घरमा टाँस्दैनन् त्यस्ता मान्छेकै घरमा चट्याङ परेको पाइएको र यसमा वैज्ञानिकता पनि रहेको उनको भनाइ छ। गौतमले शिवजीको प्रिय गहना नाग भएको बताउँदै भने, ‘नाग सम्पूर्ण जीवजन्तुको रक्षाका लागि सिर्जना गरिएको हो। यसले दुषित वातावरणलाई शुद्ध पार्ने काम गर्छ।’ संस्कृतिविद् डा. गोविन्द टण्डनले आक्‍कल झुक्‍कल सोमबारका दिन नागपञ्चमी पर्ने र नागपञ्चमी र सोमबार एकै दिन परे त्यसको अझ बढी महत्व हुने बताए।उनले भने, ‘कृषिप्रधान देश नेपालमा नागपञ्चमीको झनै बढी महत्व छ।नागले जीवन र जगतप्रति नै गुन लगाएकाले नागप्रति आजको दिन विशेष श्रद्धाभाव बढाउनु राम्रो हुन्छ।’ नागपञ्चमीका दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मान्यता रहेको उनको भनाइ छ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply