७ वर्षीय बालकको मुखबाट निकालियो ५२६ दाँत, डाक्टरले भने- मोबाइल टावरको रेडियसनले यस्तो हुनसक्छ

भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् ।डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि हुन सक्ने भारतीय अनलाइन द हिन्दूले लेखेको छ ।रविन्द्रन नाम गरेका ती बच्चाको दायाँ गाला सुन्निने र दुख्ने समस्या भएपछि उनका अभिभावकहरुले अस्पताल लगेका थिए । जाँचको क्रममा डाक्टरहरुले अस्वाभाविक संख्यामा दाँतहरु रहेको पत्ता लगाए ।सविता डेन्टल कलेजको सर्जन डा. पी सेन्थिलनाथनले एक्स रे र सिटी स्क्यान गरेर हेर्दा धेरै दाँतहरु देखिए, जसको पूरा विकास भएको थिएन । त्यसपछि अपरेसन गरेर ती दाँतहरु निकाल्ने निर्णयमा डाक्टर पुगे ।डा. सेन्थिलनाथनका अनुसार दाँतहरु मासुको भित्री भागमा थिए जुन बाहिरबाट देखिँदैनथे । बच्चालाई बेहोस पारेर उसको तल्लो बंगाराको भाग निकालियो । जसको तौल २ सय ग्राम थियो । त्योभित्र ठूला, मध्यम र साना आकारका ५२६ वटा दाँत थिए । डाक्टर सेन्थिलनाथनले भनेका छन्, ‘हामीले स्वस्थ दाँतलाई रहन दियौं । अस्वाभाविक रुपमा रहेका दाँतहरुलाई सावधानीपूर्वक निकाल्यौं । सबै दाँतहरु निकाल्न पाँच घण्टा लामो अपरेसन गर्नु परेको थियो ।’अपरेसन गरेको तीन दिनपछि बच्चाको अवस्था सामान्य बन्न थाल्यो । अपरेसनपछि त्यो बच्चाले आफूलाई अब पहिलेको जस्तो दुखाइ नभएको बतायो ।डाक्टरहरुले यस्तो अस्वाभाविक स्थिति आउनुको कारण मोबाइल टावरबाट निस्किने रेडियसन वा जेनेटिक डिसअर्डर हुनसक्ने बताएका छन् ।यसअघि कुनै पनि व्यक्तिको यति धेरै संख्यामा दाँत पाइएको थिएन । यसअघि सन् २०१४ मा भारतकै १७ वर्षीय एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।

नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो
दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो ।कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग बोलचाल थिएन । वन्तपछि आईजीपी बनेका दुर्जकुमार राई र अर्यालले विवादलाई साम्य पारेका थिए । उनीहरु ३ फागुन २०४३ मा एकैदिन नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । राई २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।गृह मन्त्रालयले तयार पारेको ‘सशस्त्र प्रहरी बल, नेपालको गठन, सेवा सर्तसम्बन्धी व्यवस्था गर्न विधयेक’ को मस्यौदा संसद्मा पेश हुन लाग्दा विवाद देखिएको छ । अहिले शैलेन्द्र खनाल सशस्त्र प्रहरीको दशौं महानिरीक्षक छन् ।‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’ पनि यही बेला संसदको राज्य व्यवस्था समितिमा छलफलमा छ ।आइतबार समितिमा भएको छलफलमा सांसदहरुले प्रहरीको क्षेत्राधिकार कटौतीको प्रस्ताव राखेपछि प्रहरी अधिकृतहरु सशंकित बनेका छन् । पूर्वगृहमन्त्री समेत रहेका नेकपा नेता जनार्दन शर्मा, पम्फा भुसाल, कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुलगायतले प्रहरीलाई अनुसन्धानको मात्र जिम्मा दिएर सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिनुपर्ने बताएका थिए ।जनपथको जिम्मेवारी अनुसन्धान मात्र !सांसदहरुले राजमार्ग, विदेशी कुटनीतिक नियोग, औद्योगिक क्षेत्र, राष्ट्रिय प्राथमकिताको आयोजना, विमानस्थल, कारागार लगायतको सुरक्षा गर्ने जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिन प्रस्ताव गरेका छन् । यसका लागि सशस्त्र प्रहरी बलले औपचारिक/अनौपचारिक लबिङ गर्दै आएको थियो ।संसदीय समितिमा सांसद पम्फा भुसालले समायोजनले सुरक्षाकर्मीको संख्या कम हुने जिकिर गर्दै नेपाल प्रहरीको भूमिका प्रष्ट हुनुपर्ने बताएकी थिइन् । उनले सशस्त्र प्रहरी खटाइएको ठाउँमा नेपाल प्रहरी नखटाउन सुझाव दिइन् । छलफलमा पूर्वगृहमन्त्री शर्माले प्रस्ताव गरे, ‘तत्काल अनुसन्धान गर्नुपर्ने ठाउँमा मात्र नेपाल प्रहरीलाई राखौं ।’छलफलमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘सेना र सशस्त्रले सुरक्षा दिए पनि सर्वसाधारणसँगको सम्पर्कमा नेपाल प्रहरी नै आवश्यक हुन्छ’ भन्दै भने असन्तुष्टि जनाएका थिए ।अहिले सांसद रहेका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल जनतासँग जोडिने क्षेत्रमा नेपाल प्रहरी नै रहनुपर्ने बताउँछन् ।सशस्त्र प्रहरी बलले ‘आउटर पेरिमिटर’को सुरक्षा गरे पुग्ने उनको भनाइ छ । ‘जनपद प्रहरीको भूमिका खुम्च्याएर आन्तरिक सुरक्षा कायम हुन सक्दैन’, सिलवाल भन्छन्, ‘अदालत ल्याउनु/लैजानुपर्ने भएकाले कारागारमा पनि प्रहरीको उपस्थिति अनिवार्य हुन्छ ।’जसको जन्म जे कामका लागि भएको हो, त्यसको व्यवसायिकता, क्षमता र जवाफदेहिता त्यसैभित्रै खोजिनुपर्छ- विश्वराज पोखरेल, केन्द्रीय प्रहरी प्रवक्ताराजमार्गहरुमा अहिले सशस्त्र प्रहरीको विशेष टोली पनि खट्छ, तर नेपाल प्रहरीलाई राजमार्ग सुरक्षाको जिम्मेवारीबाट हटाउने हो भने अपराध नियन्त्रण नहुने नेपाल प्रहरीका अधिकृतहरुको दाबी छ । सशस्त्रले अहिले राजमार्ग सुरक्षा मागेर भविष्यमा अनुसन्धानको समेत जिम्मेवारी लिन चाहेको उनीहरुको आशंका छ ।त्यसो त सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मेवारी दिइए पनि जनपथ प्रहरीले पनि सीमा सुरक्षा चौकीको नाममा छुट्टै युनिट खडा गरेको छ । ‘अहिलेसम्म नेपाल प्रहरीले हाम्रो अस्तित्वलाई नै स्वीकार्न सकेको छैन’, सशस्त्र प्रहरीका एक अधिकृत भन्छन्, ‘प्रहरीले अझै सशस्त्र प्रहरी गण राख्नुले पनि यसको पुष्टि गर्छ ।’सशस्त्र प्रहरीसम्बन्धी विधयेकको मस्यौदामा उल्लेख गरिएका केही व्यवस्थाका कारण पनि प्रहरी सशंकित छ । विज्ञसँग छलफलविनै ‘हचुवाको भर’मा विधयेक ल्याएर दुई सुरक्षा निकायबीच फाटो ल्याउन खोजिएको कतिपयको तर्क छ ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply